मंगलबार, माघ २४ २०७९

सञ्‍चार मन्त्रि रेखा :‘सञ्चारको पहुँच सुनिश्चित गराउछु ‘



  • नेपालदीप
  • मंगलबार, माघ ३ २०७९
817
SHARES

३ माघ , काठमाडौं |

नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदबहाली गरेकी छिन्।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेखालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएका छन् ।

यसपटक मन्त्रिपरिषदमा रेखाको वरियता पनि माथि छ । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्री र ४ जना उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देनपछिको वरियतामा छिन् । माओवादीमा प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठपछिको वरियतामा छिन् ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई पराजित गर्दै विजयी भएकी हुन्।

पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुवात गरिन्। उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन्।

देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्। आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ।

 

पदभारपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार