
४ माघ, ताप्लेजुङ ।
ताप्लेजुङस्थित तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ ।
लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो ।
यसअघि पाथीभरा मन्दिरमा पानीको समस्या हुँदा तीर्थालुले हैरानी खेप्दै आएका थिए । तीर्थालुले माथिल्लो फेदीबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता थियो।
फुङ्लिङ नगरपालिका-११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै ‘लिफ्टिङ’ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्याइएको छ ।
पाथीभरा मन्दिरमा खानेपानी पुर्याउन २०७७ असोजमा सम्झौता भएको थियो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ । यो आयोजना कुल रु आठ करोड २२ लाखको लागतमा निर्माण गरिएको हो ।
काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने व्यवस्था मिलाइएको छ । काफ्लेपाटीसहित छवटा ट्याङ्कीमा पाँचवटा स्टेशनमार्फत लिफ्टिङ प्रविधिमार्फत पानी पम्पिङ गरेर लगिएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।