मंगलबार, माघ २४ २०७९

आकर्षक नारा



  • नेपालदीप
  • शनिबार, माघ ७ २०७९
513
SHARES

(१) नेपाली समाजमा व्याप्त भष्ट्राचारलाई विदेशीको सहयोगबाट निमिट्यान्न पार्न सकिन्छ भन्ने कुनै व्यक्ति वा राजनैतिकदलको नेतृत्वलाई लाग्छ भने यो दिवास्वप्न हो । मान्छेले सधैं प्रगति गर्दै आएको छ र भविष्यमा पनि यो प्रगतिले निरन्तरता पाउने नै छ तर हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार प्रगति गर्ने हुँदा राष्ट्रहरूको प्रगति पनि एस्तै छ । केही राष्ट्र विकसित छ केही गरिव । धनि र गरिव दूवै राष्ट्रमा गरिव र धनी दुवै थरिका मान्छे हुन्छन् । भ्रष्ट्राचार धनि र गरिवको झगडामा उत्पन्न भएको आचरण होइन अतिउपभोक्तावादले जन्माएको मानसिक अवस्था हो । दोष आफ्नो बुझाई र गराईलाई दिनुपर्छ ।

(२) आधुनिक उपभोक्तावाद र देशमा उपलब्ध स्रोतसाधनबिच ठूलो ग्याप छ । राजनेतादेखि लिएर सर्वसाधारणसम्म अधिकतम सुखी, खुसी बन्न चाहन्छन् । स्रोतसाधनले अनुमति दिंदैन । विदेशीहरूले पनि आफ्नो देशको स्रोतसाधनका आँखाले नेपाली समाजलाई सुखी बनाउने उधारो दिन्छन् । फलत “उनीहरू तेति सुखी हुँदा हामी किन नहुने”जस्ता विचारहरू घनिभूत हुन्छन् । अनि, साम्यवादी र समाजवादी चिन्तनबाट प्रभावित भएकाहरू अर्काको स्रोतसाधन देखेर “क्रान्तिकारी” बन्छन् भने स्रोतसाधन सम्पन्न समुदायहरू त्यो स्रोतसाधन प्रयोग गरेर “साम्यवादी र समाजवादी” दूवैलाई उपयोग गर्छन् । यी दूबैको तानातानमा भ्रष्ट्राचार अझैं संस्थागत हुन्छ ।

(३) प्राचीनसमयमा बलियाहरूले युद्ध गरेर, लुटेर स्रोतसाधनहरू प्राप्त गर्थे । आजको सभ्यसमाजमा प्रत्यक्ष रूपमा लुट्ने क्रियाकलाप “ठगाई”मा रुपान्तरित भएको छ । जसले कानुनी प्रक्रिया पूरा गरेर “ठग्न”सक्छ, त्यो त्यतिनै सफल व्यक्ति ठानिन थालेको छ । कताकता नेपाली समाजमा पढालेखा हुनु भनेको भ्रष्ट्राचार गर्ने अनुमति पत्र प्राप्त गर्नुसरह बनेको छ । भ्रष्ट्राचारको विश्व-इतिहासमा अधिकांश भ्रष्ट्राचारीहरू “राम्रो” पढेलेखेका व्यक्ति छन्, नाम चलेका तथा उच्च-ओहोदाका वा ओहोदेदार व्यक्तिहरू नै छन् । आजको सभ्य’मान्छेले लडाई नगरीकन सुविधा प्राप्त गर्ने सभ्यबाटो “भ्रष्ट्राचार” अन्वेषण गरेको र सफलतापूर्वक प्रयोग गरिरहेको छ ।

(४) आज नेपाली समाजको सत्य के हो भने सर्वसाधारणले नेता, कर्मचारी, व्यापारीहरू इमान्दार हुन्छन् भन्ने तत्थ्यमा कत्ति पनि विश्वास गर्दैन । साथै राजनैतिक नेतृत्व, कर्मचारी र व्यापारी आँफैलाई पनि “भ्रष्टाचार नगरी सम्पन्न बन्न सकिन्न” भन्ने विश्वास बलियो छ । दूवैले दूवैमा अविश्वास गर्छन् र को सदाचारी र को भ्रष्ट्राचारीको कुनै पहिचान छैन । एत्ति भन्न सकिन्छ -सदाचारी पनि छन्, भ्रष्ट्राचारी पनि छन् तर ती को हुन् ? भन्न सकिन्न ! यस्तो अविश्वासमा देशको उन्नति खोज्नु एउटा महत्वाकांक्षी योजना मात्र हुन्छ । तर सदाचारको अभावचाहिं छैन – सत्य यो पनि हो ।

(५) भ्रष्ट्राचारका विरुद्ध “वाद”को परित्याग र विदेशी-सहयोग अस्वीकार नगरेरसम्म सधैं भ्रष्ट्राचार मुद्दा बनिनै रहन्छ । त्यसभन्दा पनि झन् बढी भष्ट्राचार एउटा आकर्षक चुनावी नारा बन्छ जसले प्रतक्ष्य रूपमा नै भ्रष्ट्राचारी मानसिकतालाई मलजल गरिनै रहन्छ । वरू, नेपालको मौलिक “सत्याचरण”लाई महत्व दिउँ जसबाट मानसिकतहबाट नै भ्रष्ट्र-मानसिकताको निराकरण होस् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार