
९ माघ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ ।
महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो । महानगरले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेकाले छानबिन गरेको हो |
उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको हो ।
छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए।
‘सोधपुछ लगायतका काम अझै पनि भइरहेको छ’, उनले भने, ‘तथ्य प्रमाणहरू अझै संकलन गरिरहेको हुँदा र प्रतिवेदन लेख्ने काम पनि भइरहेको हुँदा गत शुक्रबार एक साताको लागि म्याद थप गरिएको हो।’
उनका अनुसार छानबिन गर्दै जाँदा विभिन्न कुराहरू आएको र फेरि त्यस्ता कुराहरूमा अनुसन्धान गर्दा समय लागेको हो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।