मंगलबार, माघ २४ २०७९

टर्मिनल प्रमुख प्रबन्धकको कार्यकक्षबाट ८ लाख , ब्रान्डेड रक्सि बरामद



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
988
SHARES

१० माघ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही दिन अघि सूचना पुगेको थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस लिएर प्रवेश पास बनाइने गरेको छ ।’ यसमा विमानस्थल नागरिक उड्डयन कार्यालयका आन्तरिक टर्मिनल व्यवस्थापना शाखा प्रमुख पूर्णप्रसाद चुडाल नै संलग्न भएको अख्तियारको आशंका थियो ।

आयोगका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न सहजीकरण गर्ने गरी पास बनाइदिन उनले प्रतिमहिना १० हजार रुपैयाँका दरले २०७८ कात्तिकदेखि १५ महिनाको एकमुष्ठ रकम उक लाख ५० हजार रुपैयाँ मागेका थिए ।

अधिकृतहरुसँग पहिल्यै सम्पर्क गरेका सेवाग्राही डेढ लाख रुपैयाँ बोकेर उनको कार्यकक्षमा छिरेका थिए । आयोगका एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गएको टोलीले  ती रकमको नम्बर पहिल्यै नोट गरेको थियो ।

तर, जब आयोगको टोली चुडालको कार्यकक्षमा प्रवेश गर्‍यो, त्यसबेला त्यहाँ घुसवापत लिएको डेढ लाख रुपैयाँ भेटिएन । चुडालले पनि घुस लिएकोबारे अनविज्ञता प्रकट गरे ।

नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

पूर्वतयारीसहित पुगेको आयोगको टोली रकमको खोजीमा जुट्यो । कार्यकक्षमा कतै रकम भेटिएन । अधिकृतहरुका अनुसार घुस दिएका व्यक्ति प्रवेश पास लिएर निस्किसकेका थिए ।

कार्यकक्ष अगाडि रहेको एउटा दराजमा चाबी लगाइएको थियो । अपरेशनमा खटिएका एक अधिकृतका अनुसार टोलीले दराजको चाबी माग्दा चुडालले आफूसँग नभएको बताए । त्यसपछि कर्मचारीहरुले आफैं ताला फुटाउने निधो गरे । त्यसक्रममा दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद भयो ।

अधिकृतहरुले त्यहाँबाट बरामद रकमलाई पहिले टिपिएका नोटका नम्बरसँग भिडाउने प्रयास गरे, तर कुनै नोटको अंक मिलेन । राति अवेरसम्म खोजी गर्दा पनि घुसवापतको डेढ लाख रुपैयाँ फेला नपरेपछि टोली चुडाललाई नियन्त्रणमा लिएर आयोगतिर गए ।

उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार