मंगलबार, माघ २४ २०७९

अर्थव्यसनको (भ्रष्ट्राचार) स्वउपचार



  • नेपालदीप
  • मंगलबार, माघ १० २०७९
741
SHARES

(१) दुर्योधन र कृष्ण दूवै स्वजन थिए । महाभारतको युद्ध सुनिश्चितजस्तै थियो तर श्रीकृष्ण युद्ध रोक्न चाहन्थे । एक दिन दुर्योधन रश्रीकृष्णको भेट भयो । कुशलाचारपछि श्रीकृष्णले दुर्योधनसंग युद्धको परिणाम वारे सम्झाए । दुर्योधनले बडो विनम्रता पूर्वक भने “हे श्रीकृष्ण ! मलाई युद्धको भयानक परिणाम थाहा छ तर के गरूँ ! मलाई धर्म अर्थात् असल मार्गको विषयमा जानकारी छ तर तेसमा मेरो मन लाग्दैन र पाप मार्ग खराव हो भन्ने थाहा छ तर मैले तेसबाट आफुलाई वाहिर निकाल्न सक्दिन । पापकर्म मेरो स्वभाव बनिसकेको छ ।”

(२) अनि, सबैलाई थाहा छ, महाभारतको युद्ध सकियो । दुर्योधनले युद्ध हारे । आचार्य द्रोणका छोरा अश्वाथामाले दुर्योधनलाई खुसी तुल्याउन गहिरो निन्द्रामा सुतिरहेका पाण्डवक छोराहरूको निर्ममतापूर्वक हत्या गरे । यो समाचार सुनाउंदा दुर्योधन खुसी भएनन् । उनले भने “गुरू पुत्र तिमीले मलाई खुसी पार्ने नाममा जघन्य अपराध गर्यौं । बालकहरूको हत्या गर्यौं । सम्भवत: मेरो पापमय स्वभावको यो सबैभन्दा खराव परिणाम होला । मेरो बंश नै विनाश भयो ।” अनि दुर्योधनले प्राण त्याग गरे ।

(३) दुर्योधनले कृष्णलाई भनेका थिए “हे श्रीकृष्ण ! पापाचार गर्नु मेरो स्वभाव बनेको छ, मैले चाहेर पनि त्याग्न सकिरहेको छैन ।” नेपाली समाजमा भ्रष्ट्राचारको पनि यही गति छ । मान्छेमा अनेकौं कारणले भ्रस्ट्राचार स्वभावमा रुपान्तरित भएको छ । हरेक भ्रष्ट्राचारीलाई आफ्नो कुकर्मको ज्ञान तर त्यो दलदलबाट आफुलाई निकाल्न सक्दैन । केही पटक भ्रष्ट्राचारलाई स्वीकार गरिसकेपछि रस र लत बस्छ । रस जव लतमा रुपान्तरित हुन्छ, लागुपदार्थको दुर्व्यसनझैं भ्रष्ट्राचार पनि निरन्तर पन्पिदै जान्छ । हरेक पटक मन्दिरमा कसम खाएर पनि लागुपदार्थको लतमा परेका व्यक्तिले लतबाट मुक्त हुन नसकेझैं भ्रष्ट्राचारको लतबाट मान्छे मुक्त हुन नसकेको होला भन्ने अनुमान गर्छु ।

(४) भ्रष्ट्राचारजन्य क्रियाकलप मानसिक लत हो कि होइन यसको छिनिफानो गर्ने काम मनोबैज्ञानिकहरूको हो । तर “सित्तै”मा प्राप्त सुविधाहरूको लतले जस्तोसुकै महान् व्यक्तिलाई पनि आफ्नो लतमा पार्न सक्छ । नेपाली समाजमा भष्ट्राचार र राजनैतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, तथा व्यापारीहरू पर्यायवाची बनेका छन् । कुनै पनि सभ्यसमाजका लागि यो सबैभन्दा कमसल पहिचान हो । तेसैले होला, हरेक चुनावमा “भष्ट्राचार निवारण” एउटा आकर्षक नारा बन्छ भने सरकारका हरेक कार्यालयमा “म भष्ट्राचार गर्दिन, गर्न पनि दिन्न”जस्ता आफैलाई “गालीगलौज” गर्ने बाक्यांशहरू लेखिएका हुन्छन् । यी सूचनाहरू निकै लज्जास्पद छन् । यी बाक्यांश राखेका ठाउँका हरेक व्यक्ति “आरोपित, सम्भावित दोषी र अनैतिक” व्यक्ति हुन् । यो राम्रो होइन ।

(५) अहिलेको नेपाली समाजमा “भष्ट्राचार” शब्द आफैमा सकुनीहरूको जालझेलमा परेको छ । गैरकानुनी “आर्थिक-उपलब्धि” र भष्ट्राचार पर्यायवाची बनेका छन् । यदि कसैले आफ्नो आर्थिक-अनियमिततालाई कानुनीरूपले जायज प्रमाणित गर्न सफल भयो भने उ निर्दोष ठहरिन्छ । तर सत्य के हो भने मर्ने वेलामा दुर्योधन पछुताएझैं सम्भवत: सम्बन्धित व्यक्तिले आफुलाई ढाँटन सक्ने छैन । दोश्रो, कुरा केवल आर्थिक अनियमतितामात्र “भष्ट्राचार” हो भन्ने जुन प्रतिमान स्थापित गरिएको छ, यो भन्दा ठूलो हास्यास्पद व्यबस्था अरु केही छैन । समग्र आचरण सुधारलाई छोडेर केवल आर्थिक पाटोमा सुधार गर्छु भन्ने सोच सफल हुँदैन ।

(५) दुर्योधनलाई भष्ट्रचारी बनाउनमा उसको आफ्नो महत्वाकांक्षी स्वभाव, मामा सकुनी र अन्धापिता दुर्योधनको सङ्गत थियो । लागुपदार्थ होस् वा रक्सीको लत सबैजसो लतहरू खरावसङ्गत र आफ्नै प्रवृत्तिका कारण लाग्छन् । नेपाली सामाजिक व्यवस्थामा भ्रष्ट्राचार समाजको व्यक्तित्व बनेको छ । सडकमा उभिएर हेर्दा सबै भ्रष्ट्राचारी देखिने अवस्था छ भने व्यक्तिगत रुपमा भ्रष्ट्राचार लतका रूपमा झ्याँगिएको छ । हरेक व्यक्तिका औलाहरू आफु वाहेक अर्कोतिर ठडिएका छन् । विदेशीहरूले भष्ट्राचार गर्नु हुँदैन भने तर आफ्नो लवाई-खवाईलाई “सभ्यता”को सबैभन्दा उत्कृष्ट अवस्था भन्दै मान्छेहरूलाई “अर्थ केन्द्रीत जीवन शैलीका लागि अनुमोदन गरे । उनको अनुमोदनले व्यक्तिहरू व्यक्तिगत रूपमा अर्थ-वाहिर बाँच्नै नसक्ने अवस्थामा पुगे । मान्छेहरूमा पैसा जोड्ने लत वस्यो ।

(६) आजको शिक्षा पद्धतिले हरेक बालबालिकालाई अर्थको (पैसा) लत बसाल्ने काम गरिरहेको छ । शिक्षाको पिरामिडमा पैसा र तेसले प्राप्त गर्न सकिने सुविधाहरूको मनोहर चलचित्र छ । त्यो चलचित्रका निर्माता पश्चिमा जीवन पद्धति हो । अर्थ केन्द्रीत चलचित्रले मान्छेसंग छल गरेको छ । धर्म अर्थात् नैतिकता व्यर्थ भएको छ । कानुनी दण्डहरू असफल भएका छन् किनभने अर्थको पिरामिड र त्यसको लतको तुलनामा कानुनी व्यबस्थाहरू सधैं लाचार र स्वार्थ केन्द्रीत छन् । कानुनी डर देखाएर भष्ट्राचारको अन्त्य हुनैसक्दैन भनेर निर्क्यौल गर्न नेपाली समाजमा व्याप्त भष्ट्राचारको बहुआयामिक स्वरूपलाई स्वीकार गरे पुग्छ ।

(७) नेपाली समाजमा भष्ट्राचार व्याप्त छ भन्ने कुरा नेपालका हरेक कार्यालयहरूको ढोकामा उकेरिएका शब्दावलीबाट प्रमाणित हुन्छ र त्यसका कारक पनि हामी नेपाली नै हौँ भन्ने प्रमाणित हुन्छ । हामीले भष्ट्राचार खोज्नु पर्ने छैन तर हरेक व्यक्तिभित्र लुकेको यो “अर्थ-पिरामिड”लाई डी-कन्स्ट्रक्ट गर्न आवश्यक छ । यसको लागि सवैभन्दा पहिला शिक्षाबाट “पैसालाई सबैभन्दा ठूलो र महत्वपूर्ण लक्ष” मान्ने प्रतिमानलाई डी-कन्स्ट्रक्ट गर्नुपर्छ । जीवनमा पैसाको महत्व छ तर जीवन भन्दा महत्वपूर्ण पैसा हुँदैन भन्ने शिक्षा हरेक बालबालिका बालिकाले प्राप्त गर्नुपर्छ । हालसम्म पैसालाई पिरामिडका रूपमा स्थापित गर्दै कार्लमार्क्स र एडमस्मिथको भजन गाउने “विज्ञ तथा राजनीतिज्ञ”लाई यो निकै ठूलो चुनौती हुने छ ।

(८) वैदिक संस्कृतिमा हरेक व्यक्तिलाई व्यक्तिगत सम्पत्ति कमाउने, त्यसको व्यक्तिगत रूपमा उपयोग गर्ने पूर्ण स्वतन्त्रता छ तर अधर्मपूर्वक पैसा कमाएर थुपार्ने वा मोजमस्ति गर्ने अनुमति छैन । यदि कसैले “दान” गरेर अनैतिक सम्पत्ति शुद्ध हुन्छ भनेर विश्वास गर्छन् भने गलत छन् । प्रश्न उही हो – के अनैतिक तरिकाले सम्पत्ति आर्जन गर्नु “लत” हो ? मलाई लाग्छ, यो एकप्रकारको शिक्षा व्यबस्थाले हरेक व्यक्तिमा इन्जेक्ट गरेको “कठोर लत” हो जुन सधैं व्यक्तिगत सुख र आफन्तको सुविधाका लागि सातपुस्तालाई पुग्ने सम्पत्ति थुपारेर पनि शान्त हुँदैन । सधैं भोको, नाङ्गो र अशान्त रहन्छ ।

(९) आर्थिक भष्ट्राचार सामाजिक रोग भए पनि व्यक्ति-व्यक्तिले आफ्नो सुधार आफैबाट आरम्भ गर्नुपर्छ । प्रत्यक्षरूपमा कानुनले प्रमाणित गरेको अवस्थामा बाहेक तपाईं हामीले कुनै पनि व्यक्ति विशेषलाई “भष्ट्राचारी” भन्न मिल्दैन र हुँदैन पनि । तर जुन व्यक्ति यो “लत”मा छन्, उनीहरूले नितान्त व्यक्तिगत रूपमा सुधारको प्रयत्न गर्न सक्छन् । दुर्योधनले मर्ने वेलामा आत्मालोचना गरे तर हामीले यही क्षणबाट आत्मालोचना गर्न आरम्भ गर्नुपर्छ । तपाईं वा मैले आत्मालोचना आरम्भ गर्दा साथ अनेकौ सकुनीहरू (पतिपत्नी, आफ्ना, हाकिम, व्यापारी, राजनैतिक दलका कार्यक्रता) सक्रिय हुने छन् तर धैर्य तथा दृढनिश्चयले “लत”उपर विजय प्राप्त गर्न सकिन्छ ।

(१०) आत्मालोचना, दृढनिश्चय, धैर्य, उत्साह र निरन्तरता यी यस्ता गुणहरू हुन् जसले हाम्रो मन र सङ्कल्पलाई “धर्म अर्थात् असलगुण विकास र कमसल दुर्गुणहरूको न्यूनीकरणमा प्रसस्त योगदान गर्न सक्छन् । एकदिनमा वा केही हप्तामा आफ्नो लत छुट्छ भन्ने कल्पना गर्नु हुँदैन तर तपाईंले जनताको सेवा गर्ने कार्यालयको ढोकामा “म भष्ट्राचार गर्दिन र गर्न पनि दिन्न” भन्ने अपमान जनक पदावलीलाई हाम्रो प्रयत्नले हटाउन सकिन्छ । यो तपाईंको निजी र नितान्त निजी निर्णय हो । मेरो सङ्कल्पले बाहेक मभित्रको “भष्ट्राचार लत” कसैले पनि हटाउन सक्दैन । कानुनी रुपमा भ्रष्ट्राचारी प्रमाणित भएर जेलमा जाँदा पनि भष्ट्राचारको लत संगै जान्छ । युद्ध गर्दिन भन्ने अर्जुनलाई श्रीकृष्णले भन्नुभएको थियो “जङ्गलमा पनि तिम्रो स्वभाव तिमीसंगै रहने छ ।”

(११) भष्ट्राचार एउटा रोग हो भन्ने तत्थ्य राज्यले स्वीकार गरिसकेको अवस्थामा यो रोग कस्तो अवस्था र कसलाई लाग्न सक्छ भन्ने तथ्य पनि बुझेकै छ । ती बुझक्कड माँझ मेरो पनि नाम आउँछ । फेरी पनि, एकपटक भष्ट्राचाररुपी रोग लागिसकेको व्यक्तिका लागि यस विरुद्ध स्वेच्छिक लडाई लड्नु पर्छ । यो लडाई महाभारत भन्दा कम छैन तर आफैलाई उपदेशदाता श्रीकृष्ण र विषादमा परेका अर्जुनझैं आफुलाई दुईतिर उभ्याएर महाभारतको युद्ध जित्नैपर्छ र जित्न सकिन्छ । यदि यसरी यो लडाई लड्ने अठोट गरिएन भने नेपाली समाजबाट आगामी १५० वर्षमा पनि भष्ट्राचारको रोग हट्ने छैन अरू असंख्य नया लागुपदार्थका व्यसनीहरू (अर्थव्यसनी जसलाई राज्यले भ्रष्ट्रचारी भन्छ) जन्मिने र हुर्कने छन् र ढोकाहरूमा लागेका नाराहरू पुरानो भएर पुंर्लेखित हुने छन् ।
स्वस्तिअस्तु ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार