
१० माघ, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलेसँगै प्रदेश सरकारले पूर्णता पाउने भएको हो ।
सत्तारुढ गठबन्धनमा मंगलबार भएको सहमति अनुसार माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।
नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको सत्ता साझेदार दलको छलफलमा सहभागी एक नेताले बताए ।
मन्त्रालयको भागबण्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनोटको तयारीमा जुटेका छन् ।
इन्चार्ज मल्लका अनुसार ८ सदस्यीय रहेको कर्णाली प्रदेश मन्त्रिपरिषदमा ऊर्जा तथा जलस्रोतलाई पुनः भौतिक पूर्वाधार मन्त्रालयमा नै गाभिएको छ र अब ७ वटा मात्र मन्त्रालय रहनेछ ।
२७ पुसमा नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका मंगलबहादुर शाहीलाई २८ पुसमा बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । अब कसलाई मन्त्री बनाउने भन्ने सम्बन्धमा दुई दलले टुंग्याउनेछन् ।
बुधबार बिहान एमाले र माओवादी केन्द्रका संसदीय दलको बैठक बस्दैछ । बुधबार नै मन्त्री नियुक्ति र शपथ गराउने तयारी गरिएको मुख्यमन्त्री शर्माको सचिवालयले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।